काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच मन्त्रालय भागबण्डा गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवा, गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) नेतृत्वबीच भएको छलफल ठोस निर्णयबिना टुंगिएको हो ।
छलफलमा मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भए पनि मन्त्रालय बाँडफाँटबारे टुंगो नलागेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।
‘मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो। तर टुंगो केही लागेन,’ उहाँले बताउनुभयो । सापकोटाले जसपाका अध्यक्ष यादव उपत्यका बाहिर रहेकाले पनि मन्त्रालयका बारेमा ठोस निर्णय हुन नसकेको बताउनुभयो ।
‘जसपाका अध्यक्ष बाहिर हुनुहुन्छ । उहाँ आएपछि फेरि छलफल गरेर मन्त्रिपरिषद् विस्तारको कुरो टुंग्याउने भन्ने कुरा छ,’ उहाँले भन्नुभयो ।
गठबन्धनको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको अनुपस्थितिमा बसेको बैठकमा कुनै ठोस सहमति नजुटाएको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालय बाँडफाँटमा ठोस सहमति जुट्न नसकेकाले मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको हो ।
सरकार गठन भएको डेढ महिना पुगिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।
सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै दिएको परमादेशअनुसार देउवा प्रधानमन्त्री बन्नुभएको थियो ।