काठमाडौँ – एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सुझाव दिनुभएको छ । उहाँले नेपाललाई आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउन भन्दै सुझाव दिनुभएको हो । आफैँसँग भएका नेतालाई अध्यक्ष बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने भन्दै अध्यक्ष नेपाललाई सुझाव दिनुभएको हो ।
भट्टराईले हिजो राति आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफैँसँग भएका नेतालाई अध्यक्ष बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने बताउनुभयो । उहाँले लेख्नुभएको छ, ‘राम्रो कुरा हो, स्वागत गर्दछु, आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’
शनिबार एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेर एमाले गएका नेताहरुप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा आए अध्यक्ष पद दिने बताउनुभएको थियो । उहाँले एमालेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति आक्रोश पोख्नुभएको थियो । साथै, अध्यक्ष नेपालले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको आरोपसमेत लगाउनुभएको थियो ।