काठमाडौँ । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गर्नुभएको थियो ।
सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो । तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएन ।
गत असार २९ गते प्रधानमन्त्री बनेका देउवा सरकारलाई ५ मन्त्रीको टेको छ । सरकार अपूर्ण छ, प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ । बजेटमा अन्योल छ । सुशासनमाथि प्रश्न उठेका छन् । संसद बिजनेसविहीन छ । तर, देउवा भने सत्ता सञ्चालनभन्दा पार्टी महाधिवेशनबाट नेतृत्व पुनः हातमा लिने दाउमा लागेको कांग्रेसकै नेताहरू बताउँछन् ।
यसबीचमा न त सरकारले कुनै उल्लेख्य काम गर्न सकेको छ, न त जनताले नयाँ सरकारको अनुभूति गर्न सकेका छन् । ४५ दिनमा देउवा सर्वत्र असक्षम बनेको टिप्पणी राजनीतिक वृत्तमा गरिएको छ ।