काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले विगतमा प्रधानमन्त्री खान राजा ज्ञानेन्द्रको पाउमा दाम चढाउने माधवकुमार नेपालले मन्त्री पदका लागि आफ्ना सांसदहरुलाई शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताउनुभएको छ ।
शनिबार युथफोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उहाँले नेता नेपालको कडा आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो ‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो, अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ।’
नेता बस्नेतले माधव नेपालले आफू नेतृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको बताउनुभयो । उहाँले भन्नुभयो ‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो, त्यतिबेला केपी ओलीले रोक्नुभयो।’
सांसद बस्नेतले माधव नेपाललाई साथ दिने नेताहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो- ‘मदन भण्डारीको नाम बेचेर माधव नेपाल र झलनाथ खनालले प्रचण्ड र शेरबहादुरको टाङमुनि छिराउँदैछन्, अरु नेताहरुले त्यस्ता काममा साथ दिनुहुँदैन ।’