काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले फुटेको नभई बिग्रिएका केही मान्छेले पार्टी छोडेको बताउनुभएको छ । शनिबार नेकपा एमालेको भातृ संगठन युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘केही मान्छे पतीत भएका हुन्, बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्।’ उहाँले नेकपा एमाले फुटेको नभई अलिकति चोइटिएको बताउनुभयो । ‘फुट्नु र चोइटिनु फरक कुरा हो । चोइटाको कसैलाई खाँचो हुँदैन ।
युथफोर्सले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ-नयाँ पालुवा पलाउँदैछन् । नयाँ-नयाँ हाँगा हाल्दैछन् ।’ उहाँले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निष्कर्षमा पुगेको टिप्पणी गर्नुभयो । उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताउनुभयो । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ उहाँले भन्नुभयो ।