काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले जिल्ला सभापतिसँग छलफल गरेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान भएको छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत छन् । छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन् ।
जिल्ला सभापतिहरू गत बुधबारदेखि सानेपामा रिले अनसन बसेका छन् । उनीहरुको मागलाई पौडेल पक्षले समर्थन गरेको छ । माग पूरा गर्न पौडेलले सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेका छन् ।
शुक्रबार बिहान बसेको पौडेल पक्षका नेताहरुको बैठकले क्रियाशील सदस्यता, जिल्ला सभापतिहरुको अनशन र अधिववेशनका बारेमा सभापति देउवासँग भेटेर छलफल गर्ने निर्णय गरेको थियो । पौडेल समूहका नेताहरु शुक्रबार साँझ बालुवाटार पुगेका थिए ।
पौडेल समूहले देशभरका सबै वडामा तोकिएकै मितिमा वडा अधिवेशन हुनुपर्ने माग गरेको थियो । त्यस्तै क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने र जिल्ला सभापतिको उम्मेदवारको हकमा दोहोरो मापदण्ड हटाउनुपर्ने जिल्ला सभापतिहरुको मागका बारेमा सभापति देउवासँग छलफल गरेको थियो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबारसम्म ४८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिसकेको छ ।