काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुभएको छ ।
उहाँले आफू कसैलाई पराजित गर्न पार्टी सभापति हुन नखोजेको बताउनुभयो । उहाँले आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउनु आफ्नो उद्देश्य भएको बताउनुभयो ।
शुक्रबार काठमाडौंको बानेश्वरमा सम्पर्क कार्यालय खोलेका निधिले भन्नुभयो, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु ।’
आफ्नो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु भएको उहाँले बताउनुभयो । उपसभापति निधिले अगाडि भन्नुभयो, ‘म कसैलाई पराजित गर्न, असक्षम घोषित गर्न वा रिटायर्ड गर्न सभापति हुन लागेको होइन ।’
उपसभापति निधिले १४औँ महाधिवेशनको तयारीस्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोल्नुभएको छ ।
कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो । उहाँको सम्पर्क कार्यालयको उद्घाटनमा कांग्रेसका नेताहरु उपस्थित भएका छन् ।
उहाँले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेको बताउनुभयो । तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न आग्रह गर्दै आउनुभएको छ । देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।