काठमाडौं । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त हुनुभएको छ । शेरधन राईले पदबाट राजीनामा दिएपछि सचिव आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्री हेरफेरअघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले संसदीय दलको नेताबाट राजीनामा दिनुभयो भने आचार्य दलको नेता बन्नुभएको थियो ।
प्रदेशसभामा एमालेको एकल बहुमत भएकाले दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त मुख्यमन्त्री आचार्यले बिहीबार नै प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको छ ।