काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्व महासचिव एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो ।
देउवा सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।
उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कर काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् । यद्यपि दल दर्ताका लागि चाहिने २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेको छ ।
यस्तै २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले बताउनुभयो । मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चारजनाले भने सनाखत गर्न पाउनुभएन । उहाँहरुको हकमा आयोगले उपयुक्त निर्णय गर्ने विश्वास दिइएको नेता पाण्डेले बताउनुभयो ।
अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।
२३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । यो समूहमा रहेका १० स्थायी कमिटीसहित केन्द्रीय कमिटी र संघीय संसदको एउटा पक्ष भने नेकपा एमालेमै रहने भएको छ ।
यसैगरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि आजै निर्वाचन आयोगमा दर्ता भएको छ । आज आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो ।
देउवा सरकारले अध्यादेश जारी गरेपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।
लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्याई दल विभाजन गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि प्रतिनिधिसभाका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहले सनाखत गर्नुभएको छ ।