काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसँग जति संख्या पुग्छन् त्यतिमात्रै व्यवस्था गरेर अध्यादेश ल्याएको भए हुन्थ्यो भन्दै देउवा सरकारप्रति तिखो व्यंग्य गर्नुभएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
माधव नेपाललाई सहज होस् भनेरै परमादेश सरकारले अध्यादेश ल्याएको बताउँदै उहाँले भन्नुभयो, ‘माधवले एमाले फुटाएपछि अध्यादेश फिर्ता लिइनेछ भन्ने व्यवस्था राखेको भए हुन्थ्यो तर उहाँहरु आफै थर्कमान हुनुहुन्छ, आफ्नै पार्टीमा पहिरो नजाहोस् भनेर ।’
उहाँले माधव नेपाललाई सहज बनाउन पाइन्छ तर एउटा मान्छेका लागि कानुन निर्माण गर्दे जान नमिल्ने बताउनुभयो । यसले देउवाको नियतमा पनि प्रश्न उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो- देउवा जस्तो मान्छे जो लोकतान्त्रिक मूल्यमान्यता छाडेर जे काम गरिरहनुभएको छ त्यसमा म आश्चर्यमा परेको छु ।
अध्यादेश जारी गर्नु आफैमा असंवैधानिक नभएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो- तर संसद् नचलेका बेला तत्काल आवश्यक परेको बेला अध्यादेश ल्याउन सकिन्छ, अहिले नेकपा एमालेको अन्तरविद्रोहलाई विभाजनमा पुर्याउन अध्यादेश ल्याइएको हो ।
आफूहरुले ल्याएको र वर्तमान सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य एउटै नभएको प्रष्ट पार्नुभयो । उहाँले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि आफूहरुले दल बिभाजन अध्यादेश ल्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘पार्टी फुटाउने उद्देश्यले अध्यादेश ल्याइएको थिएन, त्यतिबेला कुनै पनि पार्टी फुटोस् भन्ने हाम्रो उद्देश्य थिएन,हामीले ल्याएको अध्यादेशमा ४० प्रतिशत संविधानले गरेको व्यवस्था हो, हामीले संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत भनेका थियौं, संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको हो, त्यतिबेला संसद् छलेको अध्यादेशबाट देश चलाउन खोजेको आरोप लगाइयो, हामीले अध्यादेश ल्याउँदा प्रतिनिधिसभा विघटनको अवस्था थियो तर अहिले त चलिरहेको संसद् अन्त्य गरेर अध्यादेश अन्त्य गरेर अर्को दिन बिहानै अध्यादेश ल्याइएको हो ।’
अध्यक्ष ओलीले आफ्ना पार्टी सांसदहरुलाई कारवाही गरेको सिफारिस गर्दा पनि सभामुख अग्नि सापकोटाले प्रक्रिया रोकेर बेइमानी गरेको बताउनुभयो ।
उहाँले सभामुख सापकोटाले राजनीतिलाई गिजोलेर प्रतिगमन गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले सरकारमा रहेकाहरु प्रतिगमनको भष्मासुर बाटोमा अघि बढेको बताउनुभयो ।
१४ जना सांसदहलाई कारवाही गरेको एमालेको सिफारिसलाई एक दिन पनि रोक्ने अधिकार सभामुखसँग नरहेको उहाँले जिकिर गर्नुभयो । उहाँले सभामुखलाई कारवाहीको सुचना तत्काल जारी गर्न आग्रह गर्नुभएको छ । साथै उहाँले सांसदहरुलाई बन्धक बनाएर माधव नेपालले जनप्रतिनिधिहरुको अपमान गरेको आरोप समेत लगाउनुभयो ।