काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले एमाले नेताहरुलाई अपहरणकारी शैलीमा बलजफती रिसोर्टमा लगेर राखेको बताउनुभएको छ । यो शैलीलाई उहाँले ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको बताउनुभयो ।
एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा लगेर बलजफ्ती राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ । साधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’
उहाँले घेराबन्दी गरेर घर–घरबाट लगी डाँडामा लगेर नेताहरुलाई राखेको बताउनुभयो । ‘फकाइ–फकाइ लगेर गुलिया बचन बोलेर, मिठै खान दिएर थुनिएकै हो’ उहाँले भन्नुभयो , ‘चाहे सुनकै पिंजाडामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’
एक अर्को प्रसंगमा अध्यक्ष ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि निर्वाचन आयोगले बोलाउन नमिल्ने बताउनुभयो ।
उहाँले निर्वाचन आयोगले सरकार या कुनै दल विशेषको प्रभावमा परेर निर्णय गर्न नहुने जिकिर गर्नुभयो ।