काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कारबाही गरेका १४ सांसदहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेका सांसदहरु आज पनि सभामुखको कार्यकक्षमा पुगेका छन् ।
१४ जनालाई किन कारबाही नगरेको भनेर सोध्न आएको एमाले नेता रामबीर मानन्धरले बताउनुभयो । सभामुख अग्नि सापकोटा भने कार्यकक्षमा हुनुहुन्न । उहाँले माधव नेपाल पक्षका सांसदहरुलाई बचाउनका लागि अनेक वहाना बनाइरहनुभएको छ । त्यसैको सिलसिलामा मंगलबार उहाँले दाँतको माइनर सर्जरी गराउनुभएको छ । दाँतको सामान्य सर्जरी गरेर उहाँ निवासमा आराम गरिरहेको बताइएको छ ।
सभामुखको कार्यकक्षमा मानन्धरसहित खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराईलगायत नेताहरु हुनुहुन्छ ।
माधव नेपालसहितका १४ सांसदहरुलाई कारबाही गरेको पत्र एमालेले संसद सचिवालयमा बुझाएको छ । तर अहिलेसम्म पनि सभामुखले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले नेताहरुले दबाब दिंदै आउनुभएको छ । यसअघि पनि एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा पुगेर दबाब दिनुभएको थियो ।