काठमाडौं । अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकढिक्का भएको छ । लामो समयदेखि माधव नेपालको पक्षमा रहेका तर नयाँ दल दर्ता गर्ने प्रक्रियामा सहभागी नभएका मध्यमार्गी धारका एमाले नेताहरु आजको एमाले स्थायी समिति बैठकमा सहभागी हुनुभएको छ । मध्यमार्गी धारका नेताहरु र संस्थापन पक्षबीच यसअघिको १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमित भएसँगै एमाले एकढिक्का भएको सन्देश प्रवाह भएको छ । यसबाट एमालेका नेताहरु उत्साहित भएका छन् ।
आजको एमाले स्थायी कमिटीको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भयो । एमालेको आज बसेको ऐतिहासिक बैठकपछि एकताको सन्देश दिने तस्विर पनि खिचाइएको छ । गत पुसमा नेकपा हुँदादेखिकै दुई समूहमा विभाजित भएको एमाले आज एक ठाउँमा उभिएको हो ।
एमालेमा १० बुँदे सहमति कार्यान्वयनसँगै पहिलोपटक असन्तुष्ट समूहसहितको स्थायी कमिटी बैठक च्यासलमा बसेको थियो । माधवकुमार नेपालसहित तीन जना स्थायी कमिटी सदस्य नयाँ दल बनाएर बाहिरिए पनि दोस्रो तहका अधिकांश नेता मूलधारमै फर्किनुभएको छ ।
स्थायी कमिटी बैठकको चहलपहल र रौनक हेर्नलायक थियो । बैठकपछि अध्यक्ष केपी शर्मा ओलीलाई बीचमा राखेर तुल्सीलाल अमात्यको सालिक अगाडि फोटोसेसन भयो । तस्विरमा सबै नेताहरु हर्षित देखिनुभएको छ ।
आजको बैठकमा एमालेले नयाँ दल दर्ताको प्रक्रियामा रहेका सम्पूर्ण नेता कार्यकर्तालाई मूलघरमै फर्किन आह्वान समेत गरेको छ । लामो समयदेखि माधवकुमार नेपाल समूहमा रहेका तर उनको नयाँ दलमा नगाएका स्थायी कमिटीका १० नेता सहभागी भएको स्थायी कमिटी बैठकले एकताका लागि आह्वान गरेको हो ।
माले विभाजित हुँदा राजनीतिक स्थायित्व, लोकतन्त्र, समृद्धि र समाजिक न्यायकै भविष्यमा दुष्परिणाम सिर्जना हुने एमाले स्थायी कमिटीको निष्कर्ष छ । पार्टीमा समस्याको सकारात्मक समाधान खोज्ने, भिन्नतालाई उन्नतस्तरको एकतामा रुपान्तरण गर्ने र असहमतिहरुलाई स्वच्छ र रचनात्मक बहसको माध्यमबाट उच्च तहको सहमतिमा बदल्न सक्ने आधार र सामर्थ्य रहेको भन्दै बैठकले भनेको छ, ‘एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयासमा रहेका सम्पूर्ण कमरेडहरुलाई हामी आग्रह गर्छौ, आफ्नो मूलघरमा फर्किनुस् ।’
विभाजनकारी र छुट्टै दल दर्ताको प्रक्रियाबाट अलग हुने नेताहरुलाई पार्टीमा स्वागत गरिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने वा भेदभाव र कारबाही नहुने स्पष्ट पार्न चाहन्छौं ।’