काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज बसेको स्थायी कमिटी वैठकले त्यस्तो निर्णय गरेको हो ।
आजको वैठकमा माधव नेपाल समूह छाडेर पार्टीमा फर्किएका सदस्य समेत सहभागी थिए । वैठकले भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशनको मिति परिवर्तन गरेर असोज पहिलो हप्ता गर्ने निर्णय गरेको छ ।
त्यसतै स्थानीय तहका अधिवेशनहरुको मिति पनि सारिएको छ ।
बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।
त्यस्तै वैठकले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न एक उच्चस्तरीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भएको छ ।
बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको बताइएको छ ।
एमाले छोडेर माधव नेपालको पार्टीमा गएकाहरुको हकमा कार्यदलले टुंगो लगाउने भएको छ । त्यस्तै केन्द्रीय निकाय र विभागहरुलाई पूर्णता दिने पनि यही कार्यदललाई जिम्मा दिइएको छ ।