काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले नेता माधवकुमार नेपाललाई एमालेमै फर्किन सुझाव दिनुभएको छ । उहाँले एमाले एकता बचाउने प्रयास भइरहेका बेला नेता नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको बताउनुभयो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि सोमबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चैत ४ र ५ गते ललितपुरमा भएको नेपालपक्षीय एमाले कार्यकर्ताहरूको राष्ट्रिय भेलाको निष्कर्ष विभाजन नभई एकता नै रहेको बताउनुभयो ।
‘चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निष्कर्ष विभाजन होइन एकता गरौँ भन्ने थियो’, उहाँले भन्नुभयो, ‘त्यसैले हामी विभाजनतिर होइन, एकतातिर नै जानुपर्छ भन्ने अडानमा कायमै छौँ । कार्यदलका सदस्यहरु र हामी स्थायी कमिटी सदस्य पनि विभाजनमा जाँदा नेपाललाई साथ नदिने पक्षमा अहिले पनि यथावत् छौँ।’
पार्टीमै रहेर संघर्ष गर्ने कुरामा अहिले पनि नेता नेपाललाई आफूहरुको साथ रहने उहाँले बताउनुभयो । ‘माधव नेपाललाई पार्टीभित्रका विमतिमा छलफल गर्न अहिले पनि हाम्रो साथ हुन्छ । नेता नेपाल र हाम्रा मतहरु मिल्छन्’, उहाँले भन्नुभयो, ‘तर पार्टी विभाजन गरेर अलग पार्टी बनाउने कुरामा हामी तपाईंसँग हुन सक्दैनौँ भनेर पहिले नै भनेका हौँ।’
उहाँले आजको आवश्यकता माधव नेपालसहितको एमाले एकता नै रहेको बताउनुभयो । ‘आजका दिनमा माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ’, उहाँले भन्नुभयो, ‘उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो।’
काठमाडौंको बुद्धनगरमा बसेको माधव पक्षीय केन्द्रीय कमिटी बैठकको म्यान्डेट विभाजन नभई एकता रहेको पनि भट्टराईले बताउनुभयो । ‘यसअघिको केन्द्रीय कमिटीको म्यान्डेट विभाजन होइन एकता थियो। उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नुभयो’, उहाँले भन्नुभयो, ‘अब उहाँले पनि एकतामा फर्किनुपर्छ । कारबाहीहरू स्वत: अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वत: निष्क्रिय हुन्छन् । अध्यक्ष र हामीबीच यो सहमति भएको छ।’
उहाँले मंगलबार बस्ने स्थायी कमिटी बैठकबाट नेता नेपालसहितलाई पार्टी एकताका लागि आह्वान गर्ने पनि बताउनुभयो । ‘कमरेड माधव नेपाललाई समेत भोलि एकतावद्ध हुन अपिल गर्छौँ’, उहाँले भन्नुभयो, ‘हामीले औपचारिक रुपमा अपिल गरेका छौँ । नयाँ पार्टी गठन प्रक्रियाबाट उहाँ अलग हुनुपर्छ । उहाँहरु त्यसबाट अलग भएमा १४ जना सांसदमाथिको कारबाही फिर्ता हुन्छ ।’
उहाँले माधव नेपाल र आफूहरूबीचको सम्बन्ध के कस्तो रह्यो भन्नेमा अझै दुई दिनसम्म नसोध्न पनि पत्रकारलाई आग्रह गर्नुभयो। ‘हामी अन्तिम पहलकदमी लिन्छौँ’, उहाँले भन्नुभयो, ‘एमाले एकताबद्ध भएर अघि बढ्नेछ ।’