काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिवर्तनका विरुद्धमा जालझेल गर्दै कोही पार्टी छोडेर हिँड्छ भने त्यसमा शोक मनाएर बस्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
पार्टीभित्रको आन्तरिक विवादमा कतिपयले एमाले कोमामा पुग्यो सम्म भन्न भ्याएको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो,–‘कोमामा पुग्यो भन्नेलाई अहिले जवाफ दिन्न, चुनावको परिणामसम्म पर्खिन म सुझाव दिन्छु ।’ उहाँले आफू नेतृत्वको सरकारलाई विविध जालझेल षड्यन्त्र गरेर हटाएको बताउनुभयो । नीतिका हिसाबले आफूसँग प्रतिस्पर्धा गर्न नसकेपछि चौतर्फी हमला भएको उहाँले बताउनुभयो ।
एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष ओलीले २०५१ सालमा पनि मुद्धा हालेर एमालेको सरकार ढालेको स्मरण गर्दै भन्नुभयो, ‘अहिले त सोझै अदालतले प्रधानमन्त्री नै नियुक्ति गरिदिएको छ । सायद यसैलाई उच्चस्तरिय लोकतान्त्रिक अभ्यास भनिन्छ होला ।’ उहाँले चलिरहेको संसदलाई षड्यन्त्र गरेर अन्त्य गर्दै प्रतिपक्षी दललाई फुटाउने खेल जनताले प्रष्ट रुपमा बुझेको बताउनुभयो ।
आफनो सत्ता टिकाउन वर्तमान सरकारले हुने नहुने जालझेल सबै गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनता धेरै सोझा छन्, अल्मल्याउन सकिन्छ भन्ठानेका छन् तर अब जनतालाई झुक्याउन सकिँदैन, जनताले सबै प्रष्ट बुझेका छन् ।’