सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले आन्तरिक किचलोका कारण चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन सकेको छैन। यसका लागि पटक–पटक बसेको कार्यपालिकाको बैठक अनिर्णय भएपछि अहिलेसम्म बजेट आउन नसकेको हो ।
स्थानीय तहले असार १० गतेसम्म नीति तथा कार्यक्रम र असार २५ गतेसम्म बजेट ल्याई सक्नुपर्ने प्रावधान छ। असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। गत असार २५ मै बजेट ल्याउने गरी असार १८ गते र २३ गते बसेको कार्यपालिकाको बैठक अनिर्णय बनेपछि बजेट ल्याउन नसकिएको गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्षले पालिकाले निर्माण गर्दै गरेको प्रशासनिक भवनलाई १५ प्रतिशत रकम भेरिएन्स गरी थप गर्नुपर्ने र १५ प्रतिशत रकम छुट्याउने प्रतिबद्धता नआएसम्म कार्यपालिकाको बैठक नराख्ने अडानका कारण बजेट आउन ढिलाइ भएको हो ।”
कार्यपालिकाका सदस्यले दबाब दिएपछि गत साउन ३२ मा कार्यपालिकाको बैठक बसेको र सो बैठक पनि अध्यक्षको अडानका कारण निर्णयमा पुग्न नसकेको बताइएको छ । उहाँले भन्नुभयो, “यसपछि यही भदौ ६ गते आइतबार भएको कार्यपालिकाको बैठकमा अध्यक्षबाट गाउँ सभाको मिति तय र बजेट निर्माण गर्ने दुई प्रस्ताव पेस भयो।’’
पछिल्लो बैठकमा कार्यपालिका सदस्यले प्रशासनिक भवनमा १५ प्रतिशत रकम थपको विषय टुङ्गो लगाउनुपर्ने र खरिद नियमावली संशोधनसहित पास भएको भनिएको र कार्यपालिका सदस्यलाई थाहा नभएकाले छलफल गरी विवाद समाधान गर्न प्रस्ताव राख्न आग्रह गरेको बताइएको छ। उपाध्यक्ष तामाङले भन्नुभयो “अध्यक्षले यी दुई विषयमा आलटाल गर्न खोजेपछि विवाद बढ्यो र बैठकले निर्णय गर्न सकेन ।”
कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यले सुरुदेखि हालसम्म बसेको कार्यपालिकाको बैठकले गरेका निर्णय उपलब्ध गराउन माग गरेको वडा नं १ का वडाध्यक्ष गोविन्द राउतले बताउनुभयो ।