काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू नेकपा एमालमै रहेकव र माधव कुमार नेपालको पार्टीमा नगएको स्पष्ट गर्नुभएको छ । उहाँले आफूलाई माधवकुमार नेपालले खोल्न लागेको नयाँ दलमा समावेश भएको भन्ने समाचारप्रति आपत्ति जनाउनुभयो ।
एमालेबाट अलग भई नेता माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा नेता गौतम पनि आबद्ध भएको भन्ने प्रचार भएपछि उहाँको सचिवालयले त्यो झुटो भएको भन्दै खण्डन गरेको छ ।
उपाध्यक्ष गौतमको स्वकीय सचिवालयले आइतबार एक वक्तव्य जारी गर्दै यस्ता समाचारमा कुनै सत्यता नभएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेको छ । साथै उहाँले आफू केपी ओली अध्यक्ष भएको नेकपा एमालेमै रहेको पनि स्पष्ट गर्नुभयो ।
गौतमका स्वकीय सचिव दीपक टमटाले आज बिहान जारी गरेको वक्तव्यमा ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ उल्लेख गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ, ‘क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वसँग केही मतभेद रहनु स्वाभाविक हो। तसर्थ अन्य खाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’