काठमाडौं । जसपाबाट अलग भएको महन्थ ठाकुर पक्षको पार्टीको पनि नाम परिवर्तन भएको छ । सो पक्षको पार्टीको नाम अब लोकतान्त्रिक समाजवादी पार्टी भएको जानकारी नेता केशव झाले दिनुभयो ।
देउवा सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गरेको हो । देउवा सरकारले ल्याएको अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।
साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता झाले बताउनुभयो । साथै शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको जनाइएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता रहनुभएको थियो ।