काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले संसदीय दलको ह्वीप उल्लंघन गरेर निष्काशनमा परेका माधव नेपालसहित १४ सांसदलाई अबिलम्ब पदमुक्त गरेको सूचना टाँस्न आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिएका छन् ।
कार्यालय समय शुरु हुनासाथ आज एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका हुन् । सचेतक शान्ता चौधरीसहित खगराज अधिकारी, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, राजेन्द्र गौतम,लालबाबु पण्डित, विमला विश्वकर्मा, गोमा देवकोटा, थममाया थापा, निरु पाल, भगवती न्यौपाने, सूर्य पाठकलगायतका नेता तथा सांसदहरु सभामुखलाई दबाब दिन गएका छन् ।
यसअघि माओवादी र जसपाले कारवाही गरेका सांसदलाई सभामुखले तत्कालै पदमुक्त गरेको तर एमालेले कारबाही गरेको पत्र चारदिन बितिसक्दा पनि सुँचना टाँसिएको छैन ।
पार्टीले गरेको कारवाहीलाई कानून बमोजिम अघि बढाउन एमालेले सभामुखको ध्यानाकर्षण गराएको छ । बुधवार प्रमुख सचेतक विशाल भट्टराईसहितले औपचारिक रुपमा सभामुखलाई कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । सभामुखले भने आफूले कानून बमोजिम अध्ययन गर्ने बताउँदै आउनुभएको छ । एमालेले माधव नेपालसहितका १४ सांसदलाई साउन २५ गतेको केन्द्रीय कमिटी बैठकबाट निष्कासन गरेको थियो । सो पत्र भदौ १ गते निर्वाचन आयोग र संसद सचिवालयमा पठाइएको छ । कानून बमोजिम संसद नचलेको बेला सम्बन्धित दलले निष्कासन गरेको पत्र सूचना पाटीमा टाँस्नुपर्ने व्यवस्था रहेको छ । तर सभामुख सापकोटाले अटेर गर्दै आउनुभएपछि उहाँको तिब्र आलोचना भईरहेको छ । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सभामुख सापकोटा माओवादीको कार्यकर्ता भएको आरोप लगाउनुभएको थियो ।