काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फर्कन आह्वान गर्नुभएको छ ।
एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गर्नुभएको हो ।
उहाँले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताउनुभयो । अध्यक्ष ओलीले अहिलेको सरकारले गलत प्रचार बाहेक देश विकास गर्ने दृष्टिकोण नभएको पनि बताउनु भएको छ ।
माधव नेपालसंग देश बिकासको कुनै भिजन नै नरहेको भन्दै ओलीले अहिलेसम्म समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा कहिल्यै बोलेको नसुनेको तर्क गर्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको सरकारले मन्त्रिपरिषद् समेत पूर्ण रुपमा गठन गर्न नसकेको भन्दै तमाशा मात्र गरेको बताउनुभयो । त्यस्तै, अध्यक्ष ओलीले एमाले कर्कलाको पातको पानी जस्तो पार्टी नभएको भन्दै एमालेलाई ध्वस्त गर्ने प्रतिकृयावादीको कदम सफल नहुने दावी गर्नुभयो ।
उहाँले सरकारले ल्याएको अध्यादेशको पनि विरोध गर्दै संसदलाई छल्न खोजिएको आरोप लगाउनुभयो । ओलीले आफू लाग्ने हो भने माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पु¥याउन नसक्ने बनाइदिने दावी समेत गर्नुभएको छ ।
अध्यक्ष ओलीले नेकपा एमालेमाथि तानाशाही, गैरकानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने भन्दै चेतावनी दिनुभएको छ ।
अध्यक्ष ओलीले माधव नेपाललाई चार जना मान्छे बटुलेर भएपनि अध्यक्ष हुनुपर्ने रोग लागेले चोइटिएर गएको बताउनु भयो । नेता नेपालले पार्टी नेतृत्व गर्दा ठुलो पार्टीलाई कचौरा जस्तो पारेर राजिनामा दिएको बताउनु हुँदै अध्यक्ष ओलीले माधवको काम भनेकै एमाले समाप्त पार्ने भएको बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयोे –“ माधव नेपाल आफैले नेतृत्व गर्दा विशाल पार्टीलाई कचौरा जत्रोमा सिमित पार्नुभयो र अब त सकियो भनेर छोड्नुभयो । सरकारको नेतृत्व गर्दा पनि पार्टीको सहयोग र विपक्षीको सहयोग हुँदा पनि ९ महिनामै निकम्वा बनाउनुभयो र एमालेले सरकार चलाउन सक्दैन भने झै छोड्नुभयो । अहिले विपक्षीहरुसँग गठजोड गरेर एमाले समाप्त पार्ने कोशिस गरिरहनुभएको छ ।”
एमाले अझै पनि विभाजन नभएको बताउँदै अध्यक्ष ओलीले एमाले देशको प्रमुख ठुलो पार्टी भएको बताउनु भयो । १०० सिट भन्दा माथि संघीय सरकारमा एमालेको मात्र रहेको वताउनु हुँदै उहाँले सातबटै प्रदेशमा अझै पनि एमाले एकातिर र अरु जम्मै एकातिर रहँदा पनि झण्डै झण्डै बराबरीको अवस्थामा रहेको बताउनु भयो ।
माधव कै कारण एमालेले सबै ठाउँका सरकार गुमाउन परेको भन्दै पार्टीको वरिष्ठ नेता भन्दै आफ्नै पार्टी सिध्याउन लाग्ने झगडियाहरु अब आफ्नो पार्टीमा नरहेकाले पार्टीलाई नयाँ ढंगले अगाडि बढाइने अध्यक्ष ओलीले बताउनु भयो ।
आफ्नै पार्टीका सरकार विरुद्ध फ्लोरक्रस गरेर सरकार ढाल्ने, शेरबहादुर देउवा जस्ता दक्षिणपन्थीको सरकार बनाउन आफुलाई एमालेको बरिष्ठ नेता हो भन्दै राष्ट्रपतिकोमा हस्ताक्षर लिएर जाने र अदालतमा पनि एमालेलाई एमालेको निर्णय विरुद्ध उभ्याएर गलत राजनीनि माधवले गरेको भन्दै ओलीले भन्नुभयो ‘माधव नेपालको प्रबृति पार्टी बर्बाद पार्ने अनी अध्यक्ष पनि चाहियो भन्ने खालको छ।’
सरकारकामा बसेर जति नै खुट्टा तानिए पनि आफ्नो नेतृत्वमा मुलुकमा धेरै विकासका कामहरु भएको बताउनु भएको छ ।
कार्यक्रममा एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले माधव नेपालको पक्षमा २०% केन्द्रीय सदस्य नपुग्ने दाबी गर्नुभयो । बस्नेतले दलीय अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरिएका १४ सांसदलाई कारवाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिनुभयो ।