काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माधव नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न सभामुख अग्निसापकोटाको ध्यानाकर्षण गरेको छ । माधव नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न नेकपा (एमाले) ले सभामुखको ध्यानाकर्षण गराएको हो ।
बिहीबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले कारबाहीका लागि ध्यानाकर्षण गराएको छ । एमाले स्थायी कमिटी बैठकले भदौ १ गते माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । पार्टीले कारबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ ।