काठमाडौं । नेता माधव नेपालले आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गर्ने निर्णय गरेसँगै नेपाल समूहमा विभाजित भएको छ । लामो समयदेखि नेपाललाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।
नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गर्नुभएको थियो । तर नेता नेपाल त्यसमा सहमत हुनुभएन र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्याएर दल दर्ता गर्न अघिपछि नेपाल समूह विभाजित भएको हो । नेपाललाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ ।
स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलष्मी शाक्यले नेता नेपालको साथ नदिने बताइएको छ । उपमहासचिव घनश्याम भुसाल सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र अनुशासन आयोगका प्रमुख अमृत बोहराले पनि नयाँ दलमा नजाने निर्णय गर्नुभएको छ ।
स्थायी कमिटी सदस्यद्वय वेदुराम भुसाल र मुकुन्द न्यौपाने भने नेता नेपालसँगै रहने हुनुभएको छ । केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ ।
अध्यादेश ल्याउन लगाएर माधव नेपालले पार्टी फुटाएको आरोप माधव समूहका नेताहरुले लगाएका छन् ।