काठमाडौँ । देउवा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै आज नै निर्वाचन आयोगमा दुईवटा दल दर्ता गर्ने तयारी भएको छ ।
नेकपा एमालेबाट नै छुट्टिने पक्का नै भएको माधव नेपाल पक्षका नेताले नेकपा एमाले (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका महन्थ ठाकुर पक्षले जसपा (लोकतान्त्रिक) गठनका लागि आयोगमा निवेदन लैजाने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्न सक्ने अवस्था आएसँगै माधव पक्ष र महन्थ पक्षले नयाँ पार्टी दर्ता गर्न लागेको जनाइएको छ । ।
यता नेपाल समूहभित्र दल विभाजन गर्नेबारेमा तीब्र मतभेद रहेको छ । यसअघि नेपाल समूहमा खुल्नुभएका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे दल विभाजनको विपक्षमा रहेको बुझिएको छ । माधव समूहमा अन्य को-को सहभागी होलान् त्यसलाई चासोका रुपमा हेरिएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशको खुकुलो प्रावधानको उपयोग गर्दै उनीहरुले दल दर्ता गर्ने तयारी गरेका हुन् । यद्यपि अरू कुन–कुन दलले दल दर्ता गर्नेछन्, त्यो भने अहिले नै भन्न सक्न अवस्था छैन ।























