काठमाडौं । देउवा सरकारले ल्याएको दल विभाजनसम्बन्धी प्रतिगामी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले व्यापक विरोध प्रदर्शन गरेको छ ।
मंगलबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेकपा एमाले समर्थित राष्ट्रिय युवासंघ नेपालले देउवा सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको विरोध प्रदर्शन गरेको हो ।
युवासंघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गरजस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।
युवासंघले गरेको प्रदर्शनमाथि सरकारको निर्देशनमा प्रहरीले दमन गरेको थियो । युवा संघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । सो अध्यादेश प्रतिगामी भएको भन्दै सर्वत्र विरोध भइरहेको छ । सत्ताधारी दलभित्रै सो अध्यादेशको विरोध हुनुका साथै प्रधानमन्त्री देउवाको चर्को आलोचना समेत भएको छ ।

























