काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले देउवा सरकारले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षड्यन्त्र भएको बताउनुभएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताउनुभयो ।
विगतको फोहोरी राजनीतिक अध्यासबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु नेतृत्वको असफलता भएको भट्टराईले टिप्पणी गर्नुभयो । उहाँले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले केही कदम पछाडि हटेर त्याग गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘आजका दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले यो अध्यादेश बिनाशर्त फिर्ता लिनुपर्दछ । कमरेड केपी ओली र कमरेड माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्दछ ।’
























