काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले माधव नेपाल पक्षलाई माफी दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा उपस्थित सांसदहरुको अनौपचारिक छलफलमा सहभागी सांसदहरुले माधव नेपाल पक्षलाई माफी दिन नहुने धारणा राखेका हुन् ।
छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्नेलाई माफी दिन नहुने बताउनुभयो ।
सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको सिद्वान्तबाहिर भएकाले त्यसलाई विरोध गर्नुपर्ने बताउनुभयो ।
‘दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्ने कुरालाई माफी दिन सकिएन, पार्टीभित्रको कारबाहीको कुरा स्वभाविक हो, पार्टीविरोधी गतिविधि गर्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अब चुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ,’ उहाँले भन्नुभयो ‘पार्टीविरुद्धका गतिविधिमा लाग्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्ने आमकार्यकर्ताको माग छ, त्यो अनुसार पार्टी अगाडि बढ्छ ।’























