काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । आज बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा एमालेले हठात् एवं छापामार शैलीमा संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै कडारुपमा विरोध गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय भएको बताउनुभयो ।
देउवा सरकारप्रति चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्नेछ ।’
एमालेले दल विभाजन सम्बन्धी अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई नै विभाजित बनाउने र संकटतिर धकेल्ने निष्कर्ष निकाल्दै त्यसको प्रतिवादमा उत्रिने बताएको छ ।
बैठकपछि प्रवक्ता ज्ञवालीले सञ्चारकर्मीसँग भन्नुभयो, ‘संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनका लागि अध्यादेश ल्याउने, प्रमुख प्रतिपक्षी दलका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनका लागि वैधानिक आधार प्रदान गर्ने र लोकतान्त्रिक प्रणालीभित्र चरम विकृति र भ्रष्टता भित्र्याउने तयारी जुन गरिएको छ, यो विषय अत्यन्त आपत्तिजनक, निन्दनीय र अस्वीकार्य छ ।’
यसअघि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने देउवा सरकारको नियतमाथि कडा शब्दमा निन्दा गर्नुभएको थियो । उहाँले देउवा सरकारले दल विभाजन गर्न अध्यादेश ल्याए त्यो कदापि क्षम्य नहुने चेतावनी दिइसक्नुभएको छ ।