काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । आज बिहान सवा ११ बजेदेखि बालुवाटारमा सुरू भएको बैठक अहिले पनि जारी रहेको छ ।
सो बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थिति रहेको छ ।
देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । सो विषयमा पनि बैठकमा छलफल हुने बालुटार स्रोतले जानकारी दिएको छ । सरकारको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै संसदको अधिवेशन अन्त्य गर्नुभएको थियो । देउवा सरकारले जनप्रतिनिधमूलक संस्था छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले देउवा सरकारले एमालेलाई विभाजन गर्नका लागि ल्याउन लागेको अध्यादेशबारे कडा शब्दमा प्रतिवाद गर्दै विरोध गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राति अबेर विज्ञप्ति जारी गर्दै एमाले विभाजन गर्ने गरी अध्यादेश ल्याए कदापि क्षम्य नहुने भन्दै अध्यादेश नल्याउन चेतावनी नै दिनुभएको छ ।