काठमाडौं । देउवा सरकारले संसद अधिवेशन अन्त्य गर्दै माधव नेपाल समूहलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि एमालेका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुट्नुभएको छ । अध्यादेशपछि पार्टी के कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन एमाले नेताहरु आन्तरिक छलफलमा जुट्नुभएको हो ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी सदस्यहरु भेला हुनुभएको छ । बालकोट स्रोतका अनुसार बालकोटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मालगायतका शीर्ष नेताहरु सहभागी हुनुभएको छ ।
संसद अधिवेशन आजै मध्यराति अन्त्य गर्दै देउवाले माधव समूहलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना पाएपछि अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल थाल्नुभएको हो । यसअघि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत् शासन गरेको आरोप लगाउँदै पाँच दलीय गठबन्धनले देउवा नेतृत्वको सरकार बनाएको थियो । तर देउवा सरकार पनि संसदलाई पन्छाएर अध्यादेशबाटै शासन गर्ने बाटोमा अघि बढेकाले त्यसको सर्वत्र विरोध भइरहेको छ ।