काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । उहाँले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दिनुभएको हो ।
उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाई रिट दिनुभएको छ । आफूलाई राजीनामा गर्न दवाव दिएको तर राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको बताउनुभयो । आफूले त्यो पद अस्वीकार गरेकाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा नै आफ्नो हक कायमै हुने उहाँले दावी गर्नुभयो ।
आफूले राजीनामा नदिएको अवस्थामा भनाइ राख्ने मौकासमेत सरकारले नदिई पदबाट हटाउने काम गलत हुने भन्दै उहाँले कार्यकारी निर्देशक पदमा आफ्नो हक कायम हुने बताउनुभयो । शाक्यले आफूलाई हटाउने सरकारको निर्णय, कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय बदर हुनुपर्ने माग गर्नुभएको छ । उहाँले आफू प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहकै अवस्थामा घिसिङलाई पनि त्यही पदमा नियुक्त गरिएको दावीसहित निर्णय खारेजीको माग गर्नुभएको छ ।