काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भूमिहिन, गरिब, श्रमजीवि जनताको हितमा काम गरेकाले सबैतिरबाट आक्रमण भएको बताउनुभएको छ । नेपाल टेड्र युनियन महासंघ जिफन्टको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको नवौं बैठकलाई भर्चुअलमार्फत् सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
हामी प्रतिस्पर्धाभन्दा अलि माथि उठ्यौ, अरुको हामीसँग प्रतिस्पर्धागर्ने प्रतिष्पर्धी क्षमता रहेन, त्यो सामर्थ्य नभएकाले नै रिङ्गभन्दा बाहिरबाट ढुंगा हान्ने परिपार्टी देखा परेको अध्यक्ष ओलीको तर्क थियो ।
अध्यक्ष ओलीले भिजन, प्रतिबद्धता र नीति कार्यान्वयन होला भनेर आफुहरुमाथि भिषण प्रचार आक्रमण भएको बताउनुभयो । कुनै पनि हिसाबले एक्लाएक्लै लड्न सक्ने क्षमता नभएपछि गठबन्धन बनाउँदै हिँडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अब प्रतिस्पर्धा गर्न नसकिने भयो भनेर अस्वस्थ बाटोबाट हामीमाथि हमला भइरहेको छ ।’ आफैभित्रका तत्वहरुलाई बिगार्ने, किन्ने, प्रलोभनमा पार्ने, अलोकतान्त्रिक भ्रष्ट क्रियाकलापहरु भइरहेको उहाँको भनाइ थियो । ‘हाम्रो अयोग्यता, कार्यक्षमताको अभावले होइन यी सब कुरा हामीसँग भएको हुनाले हामीप्रति ईष्या भाव जागेको हो’ उहाँले भन्नुभयो ।
माधव नेपालप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भन्नुभयो, –‘ हामीले विश्वासको मत माग्दा हाम्रै पार्टीका केही मानिसहरु कम्युनिष्ट सरकार जोगिन्छ भनेर भोट नदिएर बाहिर बसे, उनीहरु संसद बचाउनका लागि यो गरेको भन्दै जनतामा झुठ बोलिरहेका छन ।’ अहिलेको सरकार अनैतिक ढंगले बनेको छ, तर आफुहरु आलोचना गरेर मात्रै होइन काम गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले अहिलेको सरकार स्वार्थीहरुको गठजोड भएकाले भत्काउने बिगार्ने काममा मात्र केन्द्रित भएको बताउनुभयो । काँग्रेस नेतृत्वको सरकारलाई चुनौती दिदै अध्यक्ष ओलीले भन्नुभयो,–‘झुठा आलोचनामात्रै गर्ने होइन, काम गरेर देखाउनुहोस् सक्नुहुन्छ ?’