काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको पत्र सभामुख अग्नि सापकोटाले संसदमा पढेर सुनाएका छन् ।
सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिनु भएको थियो ।
दल विभाजनसम्बन्धी कानुन पारित गर्न दुई तिहाई आवश्यक पर्छ । परमादेशबाट बनेको देउवा सरकारसँग दुई तिहाई नभएकाले दल विभाजन सम्वन्धी कानून संशोधन गर्न नसक्दा सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । दलबाट विभाजन हुन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य आवश्यक पर्छ । सो संख्या माधव समूहमा नभएकाले उनले एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाउन सकेका छैनन । अब सरकारले माधव नेपालले पार्टी फुटाउन सक्ने गरी अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गरेको छ । केही दिनमै सरकारले अध्यादेश ल्याउने र माधव नेपालले पार्टी फुटाएर सरकारमा सहभागी हुने देखिन्छ ।
विगतमा ओली सरकारले पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याएको थियो । त्यसको कांग्रेस र तत्कालिन नेकपाले चर्को विरोध गरेपछि फिर्ता गरिएको थियो । तर अहिले त्यसवेला विरोध गर्ने दलहरु मिलेर बनेको गठवन्धन सरकारले अध्यादेश ल्याएर एमाले फुटाउन चाहनुले त्यतिबेलाको विरोध केका लागि थियो र अहिले केका लागि अध्यादेश ल्याउनु पर्यो ? यसको उत्तर जनतालाई दिनुपर्ने छ ।
आजको प्रतिनिधिसभामा बोल्दै एमालेका सांसद महेश बस्नेतले मापशे (माधव, प्रचण्ड र शेरबहादुर) गठवन्धन सरकारले एमाले फुटाउने अध्यादेश ल्याए सशक्त विरोध गर्ने स्पष्ट गरेका छन् ।