एजेन्सी । तालिबान लडाकुले अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरी राष्ट्रपति भवन कब्जा गरेका छन् । राष्ट्रपति भवन नियन्त्रणमा लिएसँगै उनीहरुले विजय भएको दाबी गरेका छन्।
तालिबानले काबुललाई नियन्त्रणमा लिएपछि सरकार गिरेको छ र राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन् । तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने “अफगानिस्तानमा युद्ध सकिएको छ ।” उनले भने, “हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।”
उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको बताए। राष्ट्रपति अशरफ घानी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन् ।
बिबिसीका अनुसार आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए। तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन् ।
काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन् । अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन् ।
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार त्यहाँ कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका र मानिसहरू जहाजतर्फ दौडिरहेका थिए । अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको उसका ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ ।
अमेरिकी विदेश तथा रक्षा मन्त्रालयहरूले उनीहरूले विमानस्थलको रक्षाका निम्ति विभिन्न कदमहरू चालिरहेका छन् ताकि अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवै सैनिक विमानमार्फत् उद्धार गर्न सकियोस् भनेका छन्। अमेरिकासहित पश्चिमा देशहरूले हतार-हतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ।
तालिबानको नियन्त्रणमा नआएको सबैभन्दा ठूलो सहर काबुल रहेको थियो । तालिबानले महिनौँदेखि अफगानिस्तानका विभिन्न क्षेत्रमा नियन्त्रण सुरु गरेको थियो । पछिल्ला दिनहरूमा त्यो गति निकै तीव्र देखिएको छ । लगभग सबै विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि उक्त विद्रोही समूहले आफ्नो नियन्त्रण कायम गर्न सफल भएको हो ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्।
उनले अर्को देशको आन्तरिक द्वन्द्वमा कहिल्यै अन्त्य नहुने अमेरिकी उपस्थितिलाई आफूले उचित ठहर्याउन नसक्ने बताएका छन् ।
तालिबानले आइतवार आफ्ना लडाकूहरूलाई काबुलमा प्रवेश गर्न आदेश दिएको थियो । सुरुमा उसले आफ्ना लडाकूलाई काबुल वरिपरि मात्र तैनाथ गरेको थियो ।
सुरक्षा फौजले राजधानीका भागहरू छाडेपछि त्यहाँ उत्पन्न अराजकता र लुटलाई रोक्न गइरहेको तालिबानले बताएको थियो ।
अलजजिरा टेलिभिजनले प्रसारण गरेका भिडिओ फुटेजहरूमा तालिबान लडाकूहरू राष्ट्रपति भवनभित्र हतियारसहित देखिएका छन् । (बीबीसी)

























