एजेन्सी । तालिबानी लडाकुहरूले अफगानिस्तानको राजधानी काबुललाई चारैतिरबाट घेरा हालेका छन् । साथै उनीहरु काबुलमा प्रवेश गर्न सुरु गरिसकेको अफगानिस्तानको गृह मन्त्रालय र विद्रोही समूह दुवैले जनाएका छन् । लडाकुहरुले पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टामै काबुल प्रवेश गर्न सुरु गरेको बीबीसीले जनाएको छ । लडाकुहरुले राष्ट्रपति असरफ घानीलाई आत्मसमर्पण गर्न आग्रह गरेको बताइएको छ ।
उता अफगान सरकार र तालिबानबीचको वार्ता स्थल बनेको दोहामा रहेका एक तालिबानी नेताले हिंसामा जोड नदिन र काबुल छाडेर जान चाहनेहरूलाई सुरक्षित रूपमा जान दिन निर्देशन दिइएको अलजजिरालाई बताएका छन् । अफगानी राष्ट्रपति असरफ घानी तालिबानसँग संघर्ष गर्ने या आत्मसमर्पण गर्ने भन्ने अन्योलमा परेको समाचारमा जनाइएको छ ।
राष्ट्रपति घानीको कार्यालयका प्रमुखले ट्विटरमा काबुलका जनतालाई नअत्तालिन आग्रह गर्दै जारी गरिएको ट्विटमा भनिएको छ, ‘कृपया चिन्ता नलिनु होला । केही समस्या छैन । काबुलको अवस्था नियन्त्रणमा छ ।’ तालिबान विद्रोहीहरू चारै दिशाबाट राजधानी प्रवेश गर्न थालेको समाचार आए लगत्तै कार्यालय प्रमुखको यस्तो ट्विट सार्वजनिक भएको हो । शनिबार साँझ ट्विटरमा छोटो सन्देश दिएयता राष्ट्रपति घानी भने सार्वजनिक रूपमा देखिनुभएको छैन ।
यता, तालिबानले आफूहरू काबुल प्रवेश गर्न थालेको सूचना जारी गर्दै आफूहरू शक्ति प्रयोग गरेर काबुल कब्जा गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ । अलजजिराका रिपोर्टर चार्लट बेलिसले गोलीबारीसहित साइरनको आवाज सुनिएको बताउनुभयो । सहरमा हेलिकप्टरहरु लगातार उडिरहेको उहाँले बताउनुभयो । कर्मचारीहरू सरकारी भवन छाडेर भागेका छन् भने सर्वसाधारणहरू खुला पार्कमा बस्न थालेका दृश्यहरु सञ्चार माध्यममा आएका छन् । (बीबीसी)
























