काठमाडौं । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका सेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय सेयर बजारमा जलविद्युत् कम्पनीका सेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशंकासमेत सर्वसाधारण लगानीकर्ताले व्यक्त गरेका छन् ।
नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ सेयरको कारोबार हुँदै आएको छ । गत बिहीबारको कारोबारका आधारमा कारोबार रकमको ३१ प्रतिशत हिस्सा यो क्षेत्रको छ । बिहीबारको कारोबार रकम १७ अर्ब ५० करोड रुपैयाँमध्ये जलविद्युत् क्षेत्रमात्र साढे पाँच अर्बको सेयर कारोबार भएको थियो ।
जलविद्युत् कम्पनीको सेयरमा अस्वाभाविक चलखेल भएको साधारण लगानीकर्ताले गुनासो गर्दै आएका छन् । ऋण तिर्न नसक्ने, प्रतिसेयर आम्दानी कम तथा खुद मूल्य कमजोर भएका कम्पनीको सेयर उच्च कारोबार हुँदा पनि नियामक निकायले चासो नदेखाएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् ।
पछिल्लो दुई सातायता दैनिकजसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जलविद्युत् कम्पनीको नाममा मन्त्रालयमा गुनासोसमेत आउन थालेको छ ।
पछिल्लो समय डेभलपरको विश्वसनीयता, पानीको बहाव (हाइड्रोलोजी), भौगर्भिक अवस्था विश्लेषण नगरी हल्लाको भरमा सेयर कारोबार भएको जानकारहरुले बताएका छन् ।