काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनसम्म बाम लोकतान्त्रिक गठबन्धनलाई कायम राख्नुपर्ने प्रस्ताव राख्नुभएको छ । पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको प्रस्तावमा उहाँले यस्तो उल्लेख गर्नुभएको हो ।
वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव अघि सार्नुभएको छ । केपी ओलीसँग एक्लाएक्लै जाँदा निर्वाचनमा पराजय भोग्नुपर्ने बताउँदै उहाँले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको हो । शनिबारदेखि काठमाडौँमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा आगामी निर्वाचनसम्म वर्तमान सत्तारुढ गठबन्धनलाई कायम राख्ने प्रस्ताव राख्नुभएको छ ।
आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सार्नुभएको छ । उहाँले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताउनुभयो ।
प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीलाई कसरी पराजित गर्ने भन्नेमै केन्द्रित रहेको छ । आगामी निर्वाचनमा पार्टीले शर्मनाक पराजय भोग्नुपर्ने निश्चित देखेपछि उहाँले बाम लोकतान्त्रिक गठबन्धनलाई कायम राख्न जोड गर्नुभएको हो । यसअघिको निर्वाचनमा एमालेसँग गठबन्धन गरेकाले नै माओवादीले राष्ट्रिय राजनीतिमा स्थान बनाएको प्रचण्डलाई स्मरण रहोस् ।