काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । गठबन्धन सरकारको निगरानी गरी खरबदारी गर्ने उद्देश्यले एमालेले छाया सरकार बनाएको हो ।
नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताउनुभयो । उहाँले प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बनाएको बताउनुभयो ।
सचेतक अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्व मन्त्री रामशरण बस्नेतलाई संयोजक तोकिएको छ । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला रहनुभएको छ । संयोजक बस्नेतले यसअघि सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी वहन गर्नुभएको थियो ।
यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्वमन्त्री विकास लम्साललाई संयोजकको जिम्मेवारी दिइएको छ । सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार हुनुहुन्छ । संयोजक लम्साल यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनुहुन्थ्यो ।
सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगरलाई चयन गरिएको छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट हुनुहुन्छ । संयोजक पुन यसअघि सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो ।
त्यसै गरी पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन बन्नुभएको छ । सदस्यमा पुष्पा केसी भण्डारी हुनुहुन्छ । त्यस्तै अर्थ मन्त्रालयको संयोजक इन्द्रलाल सापकोटाले सम्हाल्नुभएको छ भने सदस्यमा कृष्ण बहादुर थापा हुनुहुन्छ ।
त्यसैगरी भूमि, व्यवस्था,कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ हुनुहुन्छ भने सदस्यहरुमा मनबहादुर गुरुङ र महेन्द्र थकाली रहनुभएको छ ।
ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ चयन हुनुभएको छ भने सदस्यमा धनञ्जय दवाडी हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकको जिम्मेवारी मोहन प्रसाद रेग्मीले सम्हाल्नुभएको छ भने सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ चयन रहनुभएको छ । पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी हुनुहुन्छ भने यसकाे सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन रहनुभएको छ । एमालेले गण्डकी प्रदेशमा छाया सरकारमार्फत् गठबन्धन सरकारका जनताविरोधी कार्यको खबरदारी गर्दै हरेक बेइमानीको भण्डाफोर गर्ने बताएको छ ।