काठमाडौँ । सत्ताधारी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।
बिहीबारदेखि सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएको बैठक शनिबार दिउँसो २ बजेका लागि पनि बोलाइएको छ । शनिबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
केन्द्रीय कार्यसमितिको जारी बैठकमा उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन र महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा बोल्ने नेताहरुले मुख्य गरी आगामी भदौ १६ देखि गर्ने भनिएको पार्टीको १४ औँ महाधिवेशनको म्याद धेरै पछाडि सार्न नहुने धारणाा व्यक्त गरिरहेका छन् ।
शुक्रबारको बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने माग राख्दै कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका थिए । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि प्राप्त सुझावका आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।