सर्लाही । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेकपा एमालेको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै भएको जिकिर गर्नुभएको छ । उहाँले पार्टीको महाधिवेशनबाट निर्वाचित र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै भएकोमा कसैको दुईमत नरहेको विचार व्यक्त गर्नुभयो । उहाँले केपी ओलीबाहेक अरुले अध्यक्षमा दाबी गर्न नमिल्ने बताउनुभयो ।
नेता पाण्डेले अध्यक्ष ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल चलिरहेको र चाँडै नै पार्टी एकढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चारमाध्यमले सञ्चार गरेजस्तो एमाले तत्कालै फुटिहाल्ने अवस्थामा नरहेको बताउनुभयो ।