काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद समाधान गर्न सकेको छैन । सदस्यता विवाद समाधान गर्न नसकेकाले नै १४ औं महाधिवेशन गर्न समेत असफल बनेको छ । त्यसैकारण अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय एक महिनायता आफ्नै पार्टीका नेता र कार्यकर्ताको घेराबन्दीमा परेको हो ।
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशन समेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशन पछि सार्नुपर्ने अवस्था आएको छ ।
क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरुको माग ३४ दिनसम्म पनि सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनुपरेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताउनुभयो । उहाँले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने जिकिर गर्नुभयो ।
यस्तै ३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरुले पार्टीको विधि र विधान विपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनुपरेको बताएका छन् । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीषप्रसाद साहले विधि र विधान विपरीत दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताएका छन् ।
कैलाली क्षेत्र नम्बर १ का कांग्रेस नेता, कार्यकर्ताहरुले पार्टी केन्द्रले आफूहरुको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यता वितरणमा आफूहरुमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभई धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने बताउनुभयो । उहाँले पार्टीको जारी केन्द्रीय कार्य समितिको बैठकले आफूहरुको मागलाई सम्बोधन गर्ने आशा व्यक्त गर्नुभयो ।