काठमाडौँ । सर्वोच्च अदालतका श्रीमान् ५ को परमादेशपछि बनेको परमादेश सरकारले एक महिना पूरा गरेको छ । परमादेश सरकारको प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको आज पूरापूर एक महिना भएको छ । गत असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवा एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन असक्षम बन्नुभएको छ ।
विगत एक महिनादेखि कांग्रेसका २ र माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्रीसहित सरकार चलाइरहनुभएका देउवाको काँधमा १७ वटा मन्त्रालयको भारी छ ।
सत्ता गठबन्धनको सहयात्री घटक एमालेको माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको दाबी गरिएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले पनि उनीहरुले नाम दिन सकेका छैनन् ।
अर्कोतर्फ निर्धारित मितिमा पार्टीको १४औं महाधिवेशन नहुने भएपछि पार्टीभित्रै अप्ठेरोमा पर्नुभएका देउवा महाधिवेशनको नयाँ मिति समेत तोक्न सक्नुभएको छैन । यद्यपि देउवा कांग्रेसको नयाँ मिति टुंग्याएरमात्रै मन्त्री थप्ने रणनीतिमा लाग्नुभएको छ । सत्ता गठबन्धनका घटकहरुले उपप्रधानमन्त्री दाबी गर्दा पनि देउवा अप्ठेरोमा पर्नुभएको स्रोतले बताएको छ ।























