काठमाडौं । क्रियाशील सदस्यता विवाद तत्काल मिलाएर तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले बिरोध प्रदर्शन गरेका छन् ।
केन्द्रीय समिति बैठक बसेको स्थल बुढानिलकण्ठमा पुगेर उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान र संविधानको प्रति बुझाएका छन् ।
प्रदर्शनमा सहभागीले ‘समायोजनमा भएको धाँधली खारेज गर, क्रियाशील सदस्यतामा भएको धाँधली खारेज गर, विधान मिच्न पाइँदैन, हामीलाई केही चाहिँदैन लगाएतका नारा लगाएका थिए । त्यस्तै उनीहरुले महाधिवेशन सार्न पाइँदैन, फर्जी क्रियाशील खारेज गर आदि नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शन पछि उनीहरुले महाधिवेशन सुनिश्चितताको माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
कांग्रेसका युवाहरुको ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ ले सभापति देउवालाई ज्ञापन बुझाएको हो । समायोजनका नाममा कांग्रेस समर्थकलाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै सदस्यता छानबिनको माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिन र कार्यकाल सकिएका भ्रातृ संस्थाको अधिवेशन गर्ने वातावरण सिर्जना गर्न पनि नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सहमतिमा महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने प्रतिवद्धता जनाएका छन् ।