काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परमादेश सरकारले ल्याएको श्वेतपत्र वास्तविक नभई पूर्वाग्रही रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा श्वेतपत्रमाथि टिप्पणी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्व अर्थमन्त्री पौडेलले परमादेश सरकारका अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा कोरोना महामारीको प्रतिकुल अवस्थाको विवरण उल्लेख गरेर अघिल्लो सरकारप्रति पूर्वाग्रह राखिएको बताउनुभएको छ । उहाँले कोरोना महामारीका कारण आर्थिक गतिविधि र विकास खर्च हुन नसकेको प्रतिकुल अवस्थालाई विगतका अनुकुल अवस्थासँग तुलना गर्न नमिल्ने जिकिर गर्नुभयो ।
पूर्व अर्थमन्त्री पौडेलले श्वेतपत्रमाथि टिप्पणी गर्दै भन्नुभयो ‘कोभिड महामारीका कारण सबैभन्दा प्रतिकुल अवस्थालाई अनुकुल अवस्थासँग तुलना गरिएको छ, बीचको समयका बारेमा मौन छ।’ उहाँले आर्थिक वर्ष २०७६-७७ को समय विश्व अर्थतन्त्र साढे ३ प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशत मात्रै ऋणात्मक हुनु सुखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिड अवधिको वृद्धिदरको सहारा लिएर आर्थिक वर्ष ०७५-७६ मा भएको ७ प्रतिशतको वृद्धिदरलाई बिर्सन खोजिएको छ ।’
कोरोना महामारीकै कारण विकास खर्च हुन नसकेको बताउँदै नेता पौडेलले श्वेतपत्रमा त्यसलाई उल्लेख नै नगरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
पूर्व अर्थमन्त्री पौडेलले भन्नुभयो ‘अघिल्लो सरकारले जिम्मा लिनुपूर्व पुनर्निर्माणमा ३३ अर्ब मात्र खर्च भएको थियो, अहिलेसम्म ४ खर्ब खर्च भएको छ, जसमध्ये २ खर्ब ऋण हो ।’
नेपालको अर्थतन्त्र राजस्वले चालु खर्च धान्ने र विकास खर्चका लागि ऋण लिनुपर्ने अवस्था रहेको भन्दै उहाँले भन्नुभयो, ‘ऋण नलिने र विकास नगर्ने होइन, ऋण लिने विकास पनि गर्ने हो ।’
ऋण लियो कि लिएन भन्दा पनि ऋणको सदुपयोग भयो कि भएन भन्ने हेर्नुपर्ने उहाँले बताउनुभयो ।
अहिलेको सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गर्दै नेता पौडेलले आफूले ल्याएको भन्दा लोकप्रिय र सबैले मन पराउने बजेट ल्याउन चुनौती दिनुभयो ।