काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । उहाँले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला परमादेश सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै राजीनामा दिनुभएको हो ।
महाप्रबन्ध भट्टराईले अहिलेको परमादेश सरकार विकास विरोधी र जनविरोधी रहेको भन्दै यस्तो सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामाको घोषणा गर्नुभएको छ ।
उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा जनाइएअनुसार मन्त्रालयका नियुक्तिहरू तथा मापदण्डमा व्यवस्था नै नभएका विषयमा आरोप लगाएर परमादेश सरकारले स्पष्टीकरणको नाटक मञ्चन गरिएको उल्लेख गरिएको छ । ‘अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवाच्छित स्वार्थहरूको गठजोडबाट बनेको गंगटे सरकारले गरेको जनविरोधी कामको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य र मान्यताले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको अध्यक्षबाट राजीनामा गरेको छु,’ राजीनामा पत्रमा भनिएको छ ।
हेर्नुहोस् महाप्रबन्धक भट्टराईले दिनुभएको राजीनामा पत्र

























