काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमको संसद छलेर आएको भन्दै बिरोध जनाउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय मागेर बोल्दै अध्यक्ष ओलीले संसद चालू अवस्थामा रहदा सरकारले संसद् छलेर उक्त कार्यक्रम किन ल्याउनुपर्यो भन्दै बिरोध जनाउनुभएको हो । उहाले सरकारको साझा कार्यक्रममा कुनै नयाँ कुरा नभएको पनि बताउनुभयो । उहाँले साझा कार्यक्रममा प्रतिपक्षलाई सरापेर राष्ट्रिय सहमतिका लागि पहल गर्ने उल्लेख गरिनु हास्यास्पद भएको पनि बताउनु भयो ।
अघिल्लो सरकारले अघि बढाएका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले खराब नियत राखेर कतिपय कार्यक्रम अघि बढाउन नचाहेपछि बाध्यताले केही कार्यक्रमलाई निरन्तरता दिन आनाकानी गरिएको बताउनुभयो । त्यस्तै ओलीले आफू देश र जनताको सेवाको निम्ति जन्मिएको तर प्रधानमन्त्री हुन नजन्मिएको बताउनु भयो । काम गर्दै जाँदा प्रधानमन्त्री भएको र अब पनि जनताको जनमतमार्फत मूल ढोकाबाटै सरकारमा सहभागी हुने उहाँले बताउनु भयो ।
ओलीले अदालतको निर्णयमाथि बहस हुँदै जाने विश्वास व्यक्त गर्दै अदालत न्याय गर्न नसकेको धारणा राख्नुभयो । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) को बारेमा नेपाली जनताले जान्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस बिषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनु भयो । त्यसतै उहाँले भ्रष्टाचारीलाई कारवाही गर्दा क्यान्टोनमेन्टदेखि बीर अस्पतालसम्म छानविन गर्न माग गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीका सांसदहरू पनि मन्त्री बन्न हिरिक्क भइसकेको वताउँदै मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई व्यंग्यात्मक आग्रह पनि गर्नुभयो ।
ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको अधिकारलाई कुन्ठित गर्ने काम गरेको धारणा राख्नुभयो । विपक्षी गठबन्धनले सरकारको नेतृत्व गर्दा दसैं आउँदा केटाकेटी रमाए जस्तो गरिरहेको उहाँको भनाई छ । ओलीले एक महिनासम्म सरकारले केही काम नगरेर बधाई र धन्यवादमै अल्झिएको बताउनुभयो । अघिल्लो सरकारले धेरै राम्रो काम गरेको तथा छिमेकीसँग सन्तुलित व्यवहार गरिएको र राष्ट्रिय सम्मानलाई झुक्न नदिएको ओलीले बताउनुभयो ।
देउवा सरकारको ‘नीति तथा कार्यक्रमा लिम्पियाधुरा, लिपुलेक जस्ता समस्या समाधान गरिनेछ’ भन्ने उल्लेख भएकोप्रति इंगित गर्दै नेता ओलीले ‘लिपुलेक, लिम्पियाधुरा हाम्रो अभिन्न भू–भाग हो । फिर्ता लिन्छौं भन्न खुट्टा कमाउनुपर्ने कसले बनायो ?’ भन्ने प्रश्न पनि गर्नु भएको छ । उहाँले सरकारले आफ्नो भूमि फिर्ता ल्याउन नसके डेढ वर्षपछि आफ्नो पार्टीको सरकारले ल्याउँने दावी पनि गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगो लगाउने धम्की नदिएको प्रति इंगित गर्दै ओलीले एक/दुई बाल्टी पानीले आगो निभाएको पनि सम्झना आग्रह गर्नु भएको छ ।