काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धनले परमादेशको सहारामा प्रधानमन्त्रीबाट हटाए पनि असाधारण जनमतसाथ मूल गेटबाटै फेरि आउने बताउनुभएको छ ।
२८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट सर्वोच्चको परमादेशमा हटाइनुभएका अध्यक्ष ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको बताउनुभयो । प्रधानमन्त्री पदबाट हटेकोमा चिन्ता नरहेको भन्दै उहाँले भन्नुभयो ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’
शेरबहादुर देउवातर्फ लक्षित गर्दै ओलीले भन्नुभयो, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वाकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेशबाट भएको हो ।’
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डले दिएको ‘माओवादी आगो हो’ अभिव्यक्तिमाथि टिप्पणी गर्दै भन्नुभयो ‘उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु । उहाँ आगो हो थाहा छ । डढेलो लगाउनुहुन्छ ।’
सरकार बन्दा नबन्दै प्रतिपक्षीलाई धम्की दिइएको भन्दै उहाँले अघि भन्नुभयो, ‘तर एक-दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस् ।’ एमाले अध्यक्ष ओलीले यस्तो डढेलो निभाउन आफूहरुलाई आउने बताउनुभयो ।
एक अर्को प्रसंगमा अध्यक्ष ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताउनुभयो । उहाँले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताउनुभयो ।
‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालतले जे गर्यो त्यसको मूल्यांकन होला, वाक्य वाक्य शब्द शब्दको मूल्यांकन होला, कोही पनि इतिहासको खरो मूल्यांकनबाट उम्किन पाउँदैन’ उहाँले भन्नुभयो । उहाँले अदालतले पहिलो पटक प्रधानमन्त्री बनाएर दुनियाँमा कहिँ नभएको नजिर कायम गरेको टिप्पणी गर्नुभयो ।
सर्वोच्च अदालतले संसद विघटन गर्ने तत्कालिन प्रधानमन्त्री ओलीको निर्णय बदर गर्दै संसद पुनर्स्थापना गरिदिएको थियो । त्यस्तै धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दावी वैधानिक रहेको भन्दै अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश दिएको थियो ।
अध्यक्ष ओलीले उक्त फैसलबारे असन्तुष्टि जनाउँदै इतिहासले मूल्यांकन गर्ने बताउनुभएको हो । उहाँले अदालतजस्तो सबैले विश्वास गर्ने संस्थाको विश्वासमा कमी आउन नहुने बताउनुभयो । ‘जनताले भरोसा गर्ने संस्थाहरुबीच सन्तुलन नबिग्रोस्, मेरो चिन्ता लोकतन्त्रमाथि छ, लोकतान्त्रिक प्रणालीमा संस्थाहरु आआफ्नो मर्यादा र ठाउँमा बसेर काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
शान्ति, सुशासन र विकासको बाटो समातिसकेको देश फेरि लोकतान्त्रिक प्रणाली छाडेर गठबन्धनको सिद्धान्तमा लागेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘यसले विकासको अभियानलाई यसले ड्राइभ गर्न सक्दैन’ उहाँले भन्नुभयो ।
एमसीसीको प्रसंग जोड्दै अध्यक्ष ओलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता के गर्नुहुन्छ भनेर देउवालाई प्रश्न गर्नुभयो । उहाँले सरकारको साझा न्यूनमत कार्यक्रममा एमसीसी उल्लेख नभएको भन्दै प्रश्न उठाउनुभएको हो ।
‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले देखिनँ कतै,’ उहाँले भन्नुभयो, ‘नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ।’
सरकारले आफूले एमसीसी पास गर्नुपर्छ भनेर कुनै समय बोलेको क्लिप प्रयोग गरेर वातावरण बनाउन खोजेको उहाँको दाबी छ । सरकारसँग १६५ सांसद रहेको भन्दै उहाँले भन्नुभयो, ‘१६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने कि फेल गर्ने ? किन चुप लागेको ?’