काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले सर्वोच्चको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभएका शेरबहादुर देउवाले देशमा विद्यमान राजनीतिक संकटको समाधान गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष थापाले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष थापाले भन्नुभयो,‘उहाँले अहिलेको देशलाई निकास दिन सक्नुहुन्न, त्यसमा पनि अहिले यो सरकार जसरी बनेको छ, यो एकप्रकारले अपवित्र गठबन्धन हो । पूर्व र पश्चिम जान हिँडेका दुई शक्तिहरुको बीचको गठबन्धन हो । यो गठबन्धन निर्माण गर्नका लागि दुईवटा प्रमुख पार्टीहरुलाई फुटाइएको छ । सांसद तानातान र किनबेच भएको छ । यस्तो अपवित्र गठबन्धनले देशमा शान्ति, समृद्धि र स्थायित्व दिन सक्दैन । यो सरकारले समयमै चुनाव सम्पन्न गर्न सक्यो भने यो नै ठूलो कुरा हुन्छ ।”
अध्यक्ष थापाले देउवालाई सफलताको शुभकामना दिदै कांग्रेसले बाटो बिराएको पनि टिप्पणी गर्नुभयो । कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन चुनावसम्म जान्छ कि जाँदैन भन्ने विषयमा आशंका रहेको थापाले टिप्पणी गर्नुभयो ।
एक फरक प्रसंगमा अध्यक्ष थापाले एमाले अध्यक्ष केपी ओलीसँग काम गर्दा आफुलाई कम्फर्टेबल फिल हुने बताउनुभएको छ । उहाँले केपी ओलीसँग जस्तो सहज अरुसँग नभएको बताउनुभयो । विगतमा कांग्रेससँग सहकार्य गरेको र आफूहरुको सहयोगमा कांग्रेसले कयौं ठाउँमा चुनाव जितेको तर आफूहरुले नजितेको पनि थापाले स्मरण गर्नुभयो । कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म विभाजन रहेकोले आफू पनि पराजित भएको र त्यसको भुक्तभोगी रहेको सुनाउनुभयो तर, एमालेसँग झापामा एक क्षेत्रमा मात्रै सहकार्य गरेको र त्यहाँ चुनाव जितेको उहाँको बुझाइ छ ।