काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ ।
आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यसैगरी, बैठकमा ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेस हुने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६ पनि छलफलका प्रस्ताव गरिने र पारित गर्नका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।