काठमाडौं । नेकपा एमालेले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । ललितपुरमा सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय समेत गरेको छ । पारित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता ज्ञवालीले बताउनुभयो । महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुमा पनि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी सम्बन्धित निर्वाचित कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएकोज्ञवालीले बताउनुभयो । त्यस्तै केन्द्रीय किमटीको संख्या २२५ बनाउनुपर्ने प्रस्ताव एमालले अघि सारेको छ । यी प्रस्तावहरु तल्लो कमिटीमा छलफलका लागि पठाइने र त्यहाँबाट आएका सुझावलाई विधान महाधिवेशनमा पेश गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा चार वटा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको उहाले बताउनुभयो ।
https://youtu.be/Ji49hCsOakE
प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म रोकेर पर्खन नसकिने स्पष्ट गर्नुभयो ।
आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ । केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् । ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।
१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजकः केपी शर्मा ओली
सदस्यहरू– वामदेव गौतम, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे
२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजकः ईश्वर पोखरेल
सदस्यहरु – विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल
३ः विधान संशोधन मस्यौदा समिति
संयोजकः विष्णु पौडेल
सदस्यहरु– सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह
४ः व्यवस्थापन समिति
संयोजकः रामवहादुर थापा बादल
सदस्यहरु – मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा